धनगढी फागुण ३०। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधारइलाका बनाउन अपील गरेका छन् । सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्दै प्रचण्डले ‘ नयाँ विचार, पार्टी र समाजवादको नयाँ मोडेल निर्माण गर्ने विषयमा फेरी सुदूरपश्चिमले बीरता, क्षमता र संघर्षका नयाँ कीर्तिमान कायम गर्नुपर्ने छ ।’ अध्यक्षले एकदिन दुईदिन हैन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यबाट काठमाडौंले जसरी विभेद र अपमानका साथ हेर्यो, त्यसलाई उल्ट्याउनु पर्ने बताए ।
उनले आफूहरुले एकहदसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गरेर सुदूरपश्चिमलाई प्रदेशको मान्यता दिने काम गरेको भएपनि पूर्ण नभएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले समाजवादको आधार निर्माण गर्ने, आधारइलाकाको रुपमा यो प्रदेशलाई विकसित गर्ने र काठमाडौंलाई सन्देश दिने जिम्मेवारी अब फेरी माओवादीको काँधमा आएको बताए ।
‘हिजो जनवादी क्रान्तिमा सुदूरपश्चिमले त्यो विशिष्ट भूमिका नखेलेको भए नेपालमा संघीय गणतन्त्रको स्थापना हुने थिएन । त्यसैले त्यो बेलाजस्तै अहिले फेरि समाजवादी आन्दोलन र क्रान्तिका लागि संकल्प गर्नुपर्ने अवस्था आएको छ, उनले भने ।
एक प्रसंगमा उनले केपी ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरेर संसद विघटन गरेकाले प्रतिगमन बिरुद्ध आन्दोलन गर्न बाध्य भएको बताए ।
यो संसद भंग गर्ने, परिवर्तनको एजेण्डालाई उल्ट्याउन ओली माध्यम मात्र भएको र विदेशीको डिजाईनमा यो खेल भएको तर प्रतिगमन बिरोधी आन्दोलनका अगाडी त्यो असफल भएको उनले बताए ।
धेरै पटक आग्रह गरेर प्रधानमन्त्रीको प्रस्ताव गरेपछि बल्ल काँग्रेस सभापति देउवा पनि आन्दोलनमा आएर पद स्वीकार्न तयार भएको भन्दै यसका लागि माधव नेपाल र आफूले धेरै मेहेनत गरेको प्रचण्डको भनाई छ ।