बृद्धा भत्ता दिलाउने भन्दै औठाछाप लगाएर २७ रोपनी जग्गा ठगी गर्ने वडा अध्यक्ष सहित सात पक्राउ

बृद्धा भत्ता दिलाउने भन्दै औठाछाप लगाएर २७ रोपनी जग्गा ठगी गर्ने वडा अध्यक्ष सहित सात पक्राउ

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 24.9K
    SHARES

फागुण २९ संखुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ ।

वडाध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । पक्राउ परेका वडाध्यक्ष भोटे एमालेबाट निर्वाचित भएका थिए ।

दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एकमात्र सन्तान बिममाया तामाङ हुन् । उक्त जग्गा ७५ वर्षीया छोरी बिममायाको नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ । तर बिममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी थिएन । प्रहरीका अनुसार मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजात नागरिकताको प्रतिलिपि, घरबाटो सिफारिस तथा जग्गा नामसारी गर्ने सिफारिससमेत वडाध्यक्षले भोटेले खाँदबारीमै बसेर तयार पारेका जनाइएको छ ।

प्रहरीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीया वृद्धालाई ललाइफकाइ बृद्धा भत्ता दिलाउने भन्दै ल्याप्चे लगाउन लगाइ रजिस्ट्रेशन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ । २७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ । बिक्री भएको दुई कित्तामध्ये २७५ नंको जग्गा फागुन १६ गते पासाङ शेर्पाको नामबाट कविता पराजुलीको नाममा रजिस्ट्रेशन पास गरिएको छ ।

उक्त जग्गा नामसारी गर्न वडाध्यक्षले मालपोत कार्यालय खाँदबारीका कर्मचारी महेन्द्रकुमार पराजुलीको सहयोग लिएको जनाइएको छ । योजनाअनुसार बिममायाको नाममा पास गरिएको जग्गामध्ये कित्ता नं २८० (११७३५ वर्गमिटर ) को जग्गा वडाध्यक्ष किन्साङको तर्फबाट कल्पना भोटे र सुरेन्द्रको तर्फबाट उनकै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिष्ट्रशन पास गरेको खुलेको छ । बिममायाको नाममा रहेको २७५ (१८३० वर्गमिटर ) को जग्गा पासाङ शेर्पाको नाममा पास गरेका छन् । पासाङको नाममा रहेको सोही जग्गा पुनः कर्मचारी पराजुलीको श्रीमतीको नाममा फागुन १६ मा नामसारी भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्षले जग्गा पास गरिदिएवापत उक्त जग्गा आफूलाई दिएको पराजुलीले बयानमा बताएको प्रहरीले जनाएको छ । कागजत लेखापढी गरेवापत अनिषलाई वडाध्यक्षले रु नौ हजार दिएका थिए । कल्पनाको हकमा रजिष्ट्रशन पास लेखापढी व्यवसायी अनिषको नाममा वारेस पास भएको खुलेको छ । भोटखोला–२, ४ र ५ का विभिन्न स्थानमा अपर अरुण जलविद्युत् आयोजना (१०६८ मेगावाट) निर्माणका लागि अध्ययन भई जग्गा सर्भे तथा जग्गा प्राप्तिको कार्य भइरहेकाले उक्त जग्गा महङ्गोमा बिक्री हुने लोभले उनीहरुले उक्त जग्गा जालसाजी गरी पास गरेका हुन् । पक्राउ परेकाहरूलाई ठगी र कीर्ते मुद्दामा म्याद थपेर प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी