फागुण २५ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजको परिवर्तनको सबै भन्दा ठुलो संवाहक माओवादी भएको बताएका छन् ।
विश्वमा सबै भन्दा उत्कृष्ट समावेशी लोकतन्त्र नेपालमा स्थापित गरिएको भन्दै समानुपातिक, समावेशीता जस्ता विषयहरु सबै भन्दा उदाहरणीय रहेको र यो स्थापित गर्न पार्टीको मुख्य भूमिका रहेको प्रचण्डको भनाई छ ।
यसका बाबजुद पनि आन्तरीक अन्तरविरोध र गुटबन्दी जस्ता विभिन्न समस्याले जनतामा आक्रामक रुपले यो बिषय स्थापित गर्न नसकिएको भन्दै सबै मिलेर एकतावद्ध भएर यो अभियानमा लाग्न प्रचण्डले पार्टी निकट व्यापारी व्यवशायीहरुलाई आग्रह गरे ।
बुद्धनगरमा नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय पुँजीको विकास गर्न र परिवर्तनको संवाहक बन्नका लागि संगठनमा आबद्ध हुन आग्रह गरेका हुन्।
प्रचण्डले आफ्नो पार्टीले देशको स्रोत साधन र जनशक्ति प्रयोग गरेर आत्मनिर्भर अर्थतन्त्र बनाँउदै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने लक्ष्य र नीति लिएको बताए ।
हामी यहाँ कमाएर बिदेशमा थुपार्ने, होटल खोल्ने जस्तो खालको र दलाल अर्थतन्त्रको पक्षमा छैनौ, देशको जनशक्तिले रोजगारी प्राप्त गर्ने, कृषि जस्ता विभिन्न उद्यमको क्षेत्रमा पछिल्लो समय मध्यवर्गको पनि सहभागीता बढेको छ, अब यो समुदाय बलियो भए भने ठूला ब्यापारीले पैदा गर्ने विकृति रोक्न मद्धत पुग्छ , प्रचण्डले भने ।