फागुण २१ झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओली मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने बताएका हुन् ।
“कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जात जाति पछि आएका हुन् । जातीय पहिचानको आधार भन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।”
उनले अर्को प्रसङ्गमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेखगर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाए ।