फागुण १७ एजेन्सी । युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन् । ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषदमा आपतकालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका छन् ।
नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य देश हो । रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन् । अमेरिका र अन्य पश्चिमा मुलुक भने युक्रेनको पक्षमा उभिएका छन् ।
अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा तटस्थ देखिएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा मत दिए पनि दक्षिणी छिमेकी भारतले सहभागिता जनाएन । उत्तरी छिमेकी चीनले युक्रेनको विपक्षमा मतदान गरेको छ । परराष्ट्र मन्त्रालयले गतसाता एक विज्ञप्ति जारी गरी युक्रेनमा रुसको हस्तक्षेपको विरोध गरिसकेको छ ।
।