काठमाडौं, ११ फागुन । सत्ता गठबन्धन माओवादी र एकिकृत समाजवादी विपक्षमा देखिएपछि एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट बढाएका छन्। देउवा र ओलीबीच मंगलबार भेटवार्ता भए पनि सहमति भने नभएको नेताहरूले बताएका छन्।
मंगलवारको भेटमा एमसीसी र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए।भेटमा देउवाले ओलीलाई एमसीसी एमालेकै पालाको सरकारमा संसद्मा दर्ता भएकोले अब पास गर्न पनि तपाईंहरूको सहयोग चाहिन्छ भनेका थिए ।
जवाफमा ओलीले पहिला आफ्ना माग सम्बोधन हुनुपर्ने अडान लिएको खड्काले बताउ । ओलीले सभामुखलाई कारबाही हुनुपर्ने र पार्टीले पदमुक्त गरेका सांसदलाई कारबाही गरेपछि एमसीसीका विषयमा एउटा धारणा बनाउने बताएपछि ठोस निर्णय केही नभएन उनले बताए ।
उता एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो माग पूरा नभएसम्म अन्य विषयमा जान नसकिने स्पष्ट पारेको बताए। नेता रिमालले भने, ‘प्रधानमन्त्रीले एमसीसी पास गर्न सहयोग माग्नुभयो। हामीले हाम्रा माग पहिला सम्बोधन हुनुपर्छ भन्यौं ।’
दुई नेताबीच माघ २३ यता तेस्रो भेट हो यो। ओली माघ २३ गते सात महिनापछि बालुवाटार गएका थिए। देउवा फागुन ५ गते ओली निवास बालकोट पुगेका थिए। देउवाले ओलीसहित नेतालाई सुरुमा एकसाथ भेट गरेका थिए। अन्तिममा केही मिनेट प्रधानमन्त्री र ओलीबीच मात्रै छुट्टै छलफल भएको स्रोतले बताएको छ।
एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद्मा अवरोध गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन आयोगसँग मिलेर एमाले विभाजन गरेको आरोप लगाउदै कार्वाहिको माग पनि गरेकोछ ।
भेटमा कांग्रेसबाट देउवासँगै उपसभापति खड्का र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेता सहभागी थिए।
माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि प्रधानमन्त्री देउवा जसरी भएपनि एमसीसी पास गराउने भन्दै ओलीलाई साथमा लिने कसरतमा लागेका हुन् ।