एमसीसी संसदमा पेश गर्ने विषयमा मतदेखि देखिएको सत्ता गठबन्धनले आज निर्णायक वार्ता गर्दैछ । दिँउसो तीन बजे वालुवाटारमा बस्ने बैठकमा एमसीसी र गठबन्धनको भविष्यबारे निर्णायक छलफल हुन लागेको हो ।
प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी टेबल गर्ने र पास गर्नु पर्ने पक्षमा छन् । गठबन्धन भित्र जसपाका बाबुराम भट्टराई पनि एमसीसी अनुमोदनको पक्षमा छन् तर उपेन्द्र यादवको धारणा स्पष्ट छैन ।
जनमोर्चा यसलाई खारेज गर्नु पर्ने पक्षमा भने माओवादी केन्द्र र एकीकृत समाजवादी संसोधन गरेर मात्रै अनुमोदन गर्नु पर्ने पक्षमा रहेको छ । प्रचण्ड र माधव नेपालका पार्टी कार्यकर्ताहरु सडकमै एमसीसीको बिरुद्ध उत्रिएका छन् ।
यस्तो स्थितिमा आज हुने छलफलमा गठबन्धन कायम रहने कि टुट्ने, एमसीसी केही समय स्थगित गर्ने र संसोधनका लागि अमेरीकालाई आग्रह गर्ने ? यस्तै विषयमा घनीभूत छलफल हुँदैछ ।
प्रधानमन्त्री देउवा गठबन्धन रहेरै एमसीसी पारित गर्ने नभए टुटेर भए पनि अगाडी बढाउनेमा छन् । प्रचण्ड र माधव नेपाल गठबन्धन जोगाएरै एमसीसी संसोधन गर्ने पक्षमा छन् ।
यी कुनै पनि विषयमा नयाँ विकल्प ननिस्किए प्रधानमन्त्रीले भोली संसदमा एमसीसी पेश गर्ने योजना अघि बढाउन सक्छन् । जसले गठबन्धन टुट्नेछ भने सरकारमाथि संकट बढ्नेछ ।