१० वर्षे माओवादी जनयुद्ध शुरु भएको आज २७ वर्ष पूरा भएको छ । २०५२ साल फागुण १ गते आजकै दिन तात्कालीन नेकपा माओवादीले शसस्त्र जनयुद्धको उद्घोष गरेको थियो । आजको दिन रोल्पा, रुकुम र सिन्धुलीमा प्रहरी चौकीमा हमला गरेर माओवादीले युद्ध थालेको थियो ।
त्यसपछि १० वर्ष चलेको जनयुद्धका क्रममा राज्य र विद्रोही दुबै पक्षबाट गरी १७ हजार मानिसको ज्यान गएको थियो । सँयौ वेपत्ता छन् । हजारौ घाईते अपांग छन् ।
०६२ साल मंसीरमा भएको १२ बुदे सहमति हुँदै सरकार र माओवादीबीच शान्ति सम्झौता भएको थियो । त्यसपछि युछ छाडेर शान्ति प्रकृयामा आएको माओवादीले तीन पटक सरकारको नेतृत्व गरीसकेको छ ।
यद्यपि, पार्टीले लिएको लक्ष्य पूरा नभएको भन्दै मोहन बैद्य, विप्लव जस्ता नेताहरु अलग्गै समुह बनाएर बसेका छन् । अर्का नेता बाबुराम भट्टराई अहिले जसपामा छन् ।
यसैबीच, १० वर्षे जनयुद्धलाई राज्यका हिशाबले पहिलो पटक मधेश सरकारले मान्यता दिँदै आज सो प्रदेशमा सार्वजनिक विदा दिएको छ । साथै त्याहाँ शहीद परिवारलाई नगद सहित सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ । आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिशेष अतिथिका रुपमा सहभागी हुन जनकपुर जाँदैछन् ।
जनयुद्धको अवसरमा माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र नेकपाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।