२९ माघ, काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठक बिना निश्कर्ष सकिएको छ। एमसीसी संसदमा टेबल गर्ने देउवाको प्रस्तावमा सहमती हुन नसकेपछि बैठकले ठोस निष्कर्ष निकाल्न सकेन।
प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका हुन् । शनिबार बालुवाटारमा भएको छलफलमा गठबन्धन दलबीच संसदमा एमसीसी टेबुल गर्ने विषयमा कुराकानी भएपनि सहमती नजुटेपछि फेरि बैंठक बस्ने निर्णय गर्दै नेताहरु बाहिरिएका थिए ।
अर्को बैठक आज साँझ या भोलि आइतबार पुनः बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।
स्रोतका अनुसार बालुवाटारमा तीन शीर्ष नेताबीच भएको छलफलमा गठबन्धन कायम राखेर कसरी एमसीसी पारित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।
त्यस्तै फागुन २ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक सार्न एमालेले आग्रह गरेकोमा उक्त बैठक फागुन ४ गते बस्ने भन्नेबारेसमेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवा संसदमा तत्काल एमसीसी टेबल गर्ने पक्षमा छन् भने अध्यक्षद्वय दाहाल र नेपाल यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै निर्वाचन पछाडि धकेल्ने प्रयासमा छन्।
यसअघि गत बिहिवार मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरि एमसीसीदअनुमोदन नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने धम्किपूर्ण चेतावनी दिएका थिए ।