तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता, आठ वर्षमा २० प्रतिशतमात्रै काम सम्पन्न

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता, आठ वर्षमा २० प्रतिशतमात्रै काम सम्पन्न

  • शनिबार, माघ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

डोटी, २९ माघ । डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न सक्ने भनेर सम्झौता गरिएको भए पनि ठेकेदारको लापरवाहीका कारण उक्त पुलको अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको सो पुल हालसम्म २० प्रतिशतमात्रै काम सम्पन्न भएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेले जनाएको छ ।

विसं २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआइसिंह राजमार्गसँग जोड्ने पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । तीनवर्षे पहिलो ठेक्का सम्झौता अवधि सकिएर चारपटक म्यादसमेत थप भइसक्दा पनि काम सम्पन्न नभएको भन्दै यहाँका नागरिक आक्रोशित भएको स्थानीयवासी तथा नेकपा (एकीकृत समाजवादी)का नेता इन्द्र बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनाउन दिएको समय सकिइसक्यो, पटक–पटक म्याद थप्दा पनि पुलको काम गर्दैन, सम्बन्धित निकाय पनि वास्ता गर्दैनन्, काम नगर्नेलाई कारबाही गरिनुपर्छ ।”

उहाँका अनुसार हालको सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत मसान्तसम्म छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोड २० लाख लागतमा निर्माण हुने भनिएको ३२० मिटर लामो उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जीनियर योगेन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठेकेदारले कोरोना सङ्क्रमणका कारण कामदार नपाएको भन्दै बहना बनाउँदा काम सञ्चालन हुनसकेको छैन ।

डिभिजन सडक कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म रु तीन करोड २१ लाख भुक्तानी लिइसकेको छ । पुल निर्माण सुरु भएपछि आफूहरू पनि सडक सञ्जालमा जोडिने आशामा बसेका यहाँका स्थानीयवासी निराश भएका अर्का स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण होला र राजमार्गसँग जोडिउँला भन्ने हाम्रा सपना सबै खरानी भए, पुल बन्ने छाँटकाँट देखिएन ।”

उता पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभीले फाउण्डेशनमा समस्या भएका कारण काममा ढिलाइ भएको जिकिर गर्दै आएको छ । निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगरप्रमुख भएका कारण पनि उहाँलाई कसैले पनि कारबाही गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी