२९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सहमति जुटाउन सत्तारुढ दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन् ।
कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग आज वालुवाटारमा छलफल गरेका हुन्। शनिबार बालुवाटारमा भएको छलफलमा गठबन्धन दलबीच संसदमा एमसीसी टेबल गर्ने विषयमा कुराकानी भएको बताईएको छ।
बालुवाटारमा तीन शीर्ष नेताबीच जारी छलफलमा गठबन्धन कायम राखेर कसरी एमसीसी पारित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ।
प्रधानमन्त्री देउवा संसदमा तत्काल एमसीसी टेबल गर्ने पक्षमा छन् भने अध्यक्षद्वय दाहाल र नेपाल यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै निर्वाचन पछाडि धकेल्ने प्रयासमा छन्।
शिर्ष नेताको बैंठकमा एमसीसीसँगै स्थानीय चुनवालगायतका विषयमा पनि छलफल हुने छ ।
अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ ।
आगामी प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरिरहेको र यसैका लागि गठबन्धनमा सहमति जुटाउन देउवाले प्रयास गरिरहेका छन् ।
यसअघि गत बिहिवार मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरि एमसीसीदअनुमोदन नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने धम्किपूर्ण चेतावनी दिएका थिए ।