नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँउदो स्थानीय तह, संघ र प्रदेशको तीन वटै तहको निर्वाचनमा एमालेले एक्लै लड्ने र बहुमत ल्याउने दाबी गरेका छन् ।
स्थानीय चुनाव लक्षित अभिमुखीकरण र प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले यो सत्ताधारी गठबन्धनलाई एमाले एक्लैले पराजीत गर्ने बताए ।
उनले माधव नेपालले एमाले फुटाएर गएकाले उनीसँग कुनै तालमेल र एकता नहुने स्पष्ट पार्दै माधव नेपाललाई नो ईन्ट्रीकै नीति रहेको बताए ।
अहिले एमालेको जनमत बलियो देखेर अरु अत्तालिएको भन्दै लुक्ने भाग्ने ठाँउ भए खोज्दै गर्न अन्य दलका नेतालाई चुनौती दिए ।
मत पत्र च्यातेर, वत्ती निभाएर गडबड गरेर चुनाव जीत्ने सपना नदेखे हुन्छ, ओलीले भने । उनले एमाले विभाजनको असर स्थानीय तहमा नरहेको र दोहोरो अंक भन्दा कम नै प्रभाव परेकाले पहिला जितेको सबै स्थानीय तहमा यस पटक पनि एमालेले जीत्ने दाबी गरे ।
उनले सरकारले स्थानीय तहको निर्वाचन सार्न सक्ने आशंका समेत व्यक्त गरेका छन् ।