काठमाडौं, २३ माघ । अमेरिकाको वासिङ्टन डिसीस्थित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्ने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ।
एमसीसी मुख्यालयले पत्र पठाउँदै प्रतिबद्धता जनाएअनुसार एमसीसी पारित गर्न आग्रह गरेको हो। फेब्रुअरी ३ मा एमसीसी मुख्यालयले संयुक्तरुपमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई पत्र पठाएको हो। एमसीसीको मुख्यालयले देउवा र प्रचण्डको पत्रपछि नै एमसीसी पास गर्ने समय थप गरेको बताएको छ ।
एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले गत बिहीबार पठाएको पत्रमा भनिएको छ, तपाईँहरुले सेप्टेम्बर २९ मा एमसीसी पास गर्ने समय थप गरिदिन लिखित पत्र पठाउनु भएको थियो, त्यसमा सकरात्मक हुँदै हामीले म्याद दिएका हौं, अब गठबन्धन दल र संसदलाई समयसीमा भित्रनै एमसीसी पारित गर्न आमी आग्रह गर्दछौं।
पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ।
यदि संसद्बाट अनुमोदन नभए नेपालसँगको एमसीसी सम्झौता रद्द गर्ने निर्णय लिने पनि जानकारी गराएको छ । प्रमुख कार्यकारी अधिकृत बाहले यो सम्झौतालाई निरन्तरता दिनेबारे नेपालको ‘सार्वभौम रोजाइ’ हुने विश्वास गरेको उल्लेख गरेका छन् ।
‘डेसेम्बर १४ मा एमसीसीको निर्देशक बोर्डले नेपालसँगको सम्झैताको अवस्था र तपाईंहरूले सेप्टेम्बर २०२१ मा पठाएको पत्रबारे समीक्षा गर्यो । एमसीसी बोर्डले तपाईंहरुले गरेको चार/पाँच महिनाभित्र सम्झौता अनुमोदन गर्ने कुरालाई नोटमा लियो । सम्झौताको पक्षमा जनचेतना जगाउने र यससँग जोडिएका भ्रमहरुलाई हटाउने भन्ने तपाईंहरुको योजनाप्रति बोर्ड आभार व्यक्त गरेको छ,’ देउवा र दाहाललाई लेखेको पत्रमा छ ।
यदि यो समयसीमा भित्र नभए त्यसपछि एमसीसी बोर्डले खारेजीको विषयमा छलफल गर्ने उल्लेख गरेका छन् । ‘तपाईंहरुको तर्फबाट २८ फेब्रुअरी २०२२ भित्र कुनै कार्य नभए एमसीसी बोर्डले निरन्तरता दिने कि नदिने भन्ने भन्नेबारे मार्चको बैठकमा छलफल गर्छ । सम्झौता अनुमोदन नभए, नेपाल ५०० मिलियन डलरको अनुदान सम्झौतालाई निरन्तरता नदिनेबारे निर्णय लिनेछ । यस्तो निर्णयले नेपालसँगको एमसीसीको सहकार्य अन्त्य हुनेछ,’ पत्रमा भनिएको छ,‘एमसीसी विश्वास गर्छ की यो सम्झौताको निरन्तरता नेपालको सार्वभौम रोजाइ हो ।’