एमसीसीले एकाएक फेरी देशको राजनीति तरंगित गरेपछि यसलाई सेटल गर्न नेताहरु सक्रिय भएका छन् । एमसीसी जस्ताको तस्तै संसदमा लैजाने प्रधानमन्त्रीको प्रस्तावपछि गठबन्धन टुट्ने सम्मको खतराको संकेत गरिएको थियो । किन भने एमालेले शर्त राखेको छ कि एमसीसी पास गर्ने हो भने गठबन्धन तोडिनु पर्छ, सभामुख हटाईनु पर्छ र माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गरिनु पर्दछ ।
तर त्यो संभावना कम भएपछि फेरी प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच नै रचनात्मक संवादले नयाँ मोड लिएको हो ।
उनीहरुले प्रतिगमनको खतरा अझै नटरेकाले गठबन्धन टिक्नु आवस्यक रहेको भन्दै यसमा नयाँ बाटो खोज्ने गरी गृहकार्य चलिरहेको छ ।
जस अन्तर्गत एमसीसी नेपालको राष्ट्रिय मुद्धाहरुसँग बाझिने गरी भएका बुदाहरुको शंसोधनका लागि छलफल अघि बढाउने र संसोधनपछि गठबन्धनले नै एमसीसी अनुमोदन गर्ने वा सन् २०१७ मा अहिलेका सञ्चारमन्त्रीले त्यतिखेर अर्थमन्त्री भएका बेला एमसीसी संसदमा पेश गर्न नपर्ने गरी जुन सम्झौता भएको थियो, त्यही प्रारम्भिक सम्झौता कार्यन्वयन गर्ने भन्नेमा परामर्श शुरु भएको छ ।
एमसीसी संसदमा आउनासाथ प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव समेत त्यसको विपक्षमा उभिने संकेत देखिएपछि प्रधानमन्त्री समेत फेरी सन्तुलन बनाउन लागि परेका छन् ।
अमेरीकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने छिटो निर्णय गर्न भन्दै दबाब जारी राखेपछि नेपालका दलहरु संकटमा परेका हुन् ।
यही मेसोमा सजिलो तरीकाले यसको व्यवस्थापन गर्ने र गठबन्धन पनि कायम राख्ने गरी शीर्ष नेता बाहेक दोस्रो तहका नेता मन्त्री समेत भेटघाट र छलफलमा सक्रिय बनेका छन् ।
उनीहरुले केही दिन भित्रमा यसमा नयाँ निकाशको बाटो तय गर्न सक्ने गठबन्धनका नेताहरुको दाबी छ ।
प्रधानमन्त्रीले बुधबार मात्रै एमसीसीमा के के बुदा संसोधन गर्नु पर्ने हो ? भनेर प्रचण्ड र माधव कुमार नेपाललाई सोधेपछि उनीहरु पनि सोही अनुसारको गृहकार्यमा जुटेका छन् ।
गठबन्धनले गठन गरेको झलनाथ खनाल नेतृत्वको कार्यदलले पनि यस विषयमा अध्ययन गरीरहेको जनाएको छ । कार्यदल प्रमुख झलनाथ खनालले एमाले सरकारको पालामा लुकाईएका दस्तावेजहरु बल्ल फेला परेको र अध्ययन भईरहेको भन्दै नेपालको कानुन र संविधान भन्दा माथि एमसीसी हुन नसक्ने भएकाले केही बुदाहरु संसोधन जरुरी रहेको बताए । कार्यदलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र काँग्रेसका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् ।
नेता श्रेष्ठले यथास्थितिमा एमसीसी पास गर्न पार्टीको सहमति नहुने भन्दै छलफल चलिरहेको बताए ।