कोरोना संक्रमित भएको थाहा हुँदा हुँदै सार्वजनिक कार्यक्रममा सहभागी भएर महामारी फैलाउने काम गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध जिल्ला प्रशासन कार्यलय भक्तपुरमा उजुरी दर्ता भएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कंग्रेसका केन्द्रीय सदस्य अभिजित अधिकारी र वीरेन्द्र मडैले दिएको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गरेको हो।
यस अघि हिजो उजुरी दर्ता गर्न नमानेको प्रशासनले आज दबाब पछि उजुरी लिएको हो ।
युथ कंग्रेसका केन्द्रीय सदस्य अधिकारीले आइतबार दर्ता नभएको उजुरी आज दर्ता भएको जानकारी दिएका छन्।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सम्बोधन गरिएको उजुरीमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको माग गरिएको छ। उजुरीमा गत माघ १२ गते ओली कोभिड संक्रमित हुँदाहुँदै बालकोटमा युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई संक्रमण फैलाउने कार्य गरेकाले आवश्यक कारबाही गर्न माग गरिएको छ।
संक्रामक रोग ऐन, २०२० को दफा ३ मा ऐन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।