काठमाडौं माघ १७ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी टेबल गर्न प्रस्ताव गरेपछि नयाँ तरग पैदा भएको छ । सो अनुसार गठबन्धन पनि टुट्ने खतरा बढेको आशंकापछि अहिले शीर्ष नेताहरु छलफलमा केन्द्रीत बनेका छन् । आज बिहान मात्रै प्रधानमन्त्रीसँग माओवादी अध्यक्ष प्रचण्डले छलफल गरेका थिए । प्रचण्डले एमसीसी शंसोधन गरेर टेबल गर्न प्रस्ताव गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच पनि छलफल भएको छ । भेटमा एमसीसीकै बारेमा केन्द्रीत भएर छलफल भएको बुझिएको छ ।
तीन नेताबीच दुई घण्टा लामो छलफल भएको थियो । प्रधानमन्त्री देउवा एमसीसी संसद्बाट पारित गराउनुपर्ने पक्षमा छन्। प्रचण्ड र नेपाल भने शंसोधन गरेर मात्रै पारित गर्नु पर्ने पक्षमा छन् ।
सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताबारे साझा धारणा बनाउन कार्यदल बनाएको छ। कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ छन्।
कार्यदलले काम अगाडि नबढाएपछि प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउन पहल स्वरुप कार्यदलका नेताहरुसँग छलफल गरेका थिए ।
गठबन्धनभित्रका दल एमसीसीको विषयमा पक्ष विपक्ष बन्दा ठोस निर्णय हुन सकेको छैन।