काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको यथार्थ विवरण अभिलेख बनाएर राख्न निर्देशन दिएका छन् ।
आज शहिद दिवसको अवसरमा शहिद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको बताउदै देउवाले यस विषयमा ठोस काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन समेत दिएका छन् ।
शहिदको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहिदका परिवारलाई सहयोग गर्ने आस्वासन समेत प्रधानमन्त्रीले दिए ।
शहिदहरुको परिकल्पना अनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने अहिलेको आवस्यकता रहेको उनको भनाई छ ।
प्रधानमन्त्री देउवाले अब देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।
निःस्वार्थ रुपमा देशको हीत, समुन्नतिको लागि जीवन समर्पण गर्ने शहिदहरुले देखेको सपनालाई साकार तुल्याउन आज हामी सबै आफ्नो क्षेत्रबाट प्रतिवद्ध भई लाग्नुपर्ने प्रधानमन्त्रीको भनाई छ ।