१५ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेर बहादुर देउवालाई स्थानीय तहको निर्वाचन नसार्न दबाब दिएको बिषयमा गठबन्धनका नेताहरुले आलोचना गरेका छन् ।
हिजो प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपतिले लिखित रुपमै पत्र नै दिएको नेताहरुले बताए । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको पत्रबारे छलफल गर्दा धेरै जसो नेताहरुले उक्त पत्र असंवैधानिक भएको टिप्पणी गरेका थिए ।
यस अघिको सरकारका पालामा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारीसमा असंवैधानिक कदमहरुलाई सहयोग गरेको आरोप पनि नेताहरुले लगाएका थिए ।
अहिले स्थानीय तहको निर्वाचनको बिषयमा राष्ट्रपतिले दिएको दबाबलाई गंभीरताका साथ लिने तर पनि निर्वाचनबाट भने नभाग्ने नेताहरुको भनाई थियो ।
यो दबाब पछि प्रधानमन्त्री शेर बहादुर देउवा अविलम्ब निर्वाचनको मिति घोषणा गरौँ न त भन्ने तिर देखिएको एक नेताको दाबी छ ।
आजै अपरान्ह ४ बजेपछि गठबन्धनको बैठक पुनः बसेर यस विषयमा निर्णय हुने बताईएको छ ।