माघ १२ मा राष्ट्रिय सभाको निर्वाचन भयो सात वटै प्रदेशमा । १९ जना राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा काँग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सबै सिटमा क्लिन स्वीप गर्ने र एमालेलाई स्तव्ध पार्ने रणनीति बनाएको थियो । उनीहरुले पटक पटक बैठक बसी अपील समेत जारी गरेका थिए ।
हुन पनि यो सर्वसाधारण मतदाताले नभई सुझबुझ र पार्टीको नीतिप्रति प्रतिवद्ध जनप्रतिनिधिले मतदान गर्नु पर्ने भएकाले सबै सिटमा गठबन्धन बिजयी हुनेमा शीर्ष नेताहरु आशावादी थिए । र दाबी पनि गरीरहेका थिए ।
तर आफ्नो पक्षमा यो चुनाव हुँदैन भन्ने स्वीकार गरीसकेको एमालेले प्रदेश १ मा पाँच दलीय गठबन्धनलाई एक धक्का दियो र एक सिटमा बाजी मार्यो । सोलुखुम्बुका ग्यालजेन शेर्पाले एमालेको पक्षमा एक सिट सुरक्षित पार्न सफल भए । त्यहीँ गुरु बराल काँग्रेसका गोपाल बस्नेतसँग बराबरी मत ल्याएपछि चिट्ठामा असफल भएर पाखा लागे । अन्यथाः प्रदेश १ मा एमालेले गठबन्धनलाई ठूलो झड्का दिने थियो ।
तर प्रदेश १ मा स्वयं एमालेकै दुई सांसदले नै गुरु बरालमाथि अन्तरघात गरेको भने देखियो । प्रदेश १ मा गठबन्धनको अन्तरघातले परिणाममै प्रभाव पारे पनि गण्डकी र सुदुरपश्चिम प्रदेशमा भने अन्तरघातले निर्णायक प्रभाव पारेन । तर अन्तरघातको समिक्षा भयो ।
यो अन्तरघात अहिले सानो देखिए पनि भविष्यमा चुनावी गठबन्धन बन्यो र त्यही प्रकारको स्थिति देखियो भने अपेक्षित परिणाम नआउन सक्छ भन्ने चिन्ता नेताहरुलाई देखिन्छ ।
यो अन्तरघातबाट काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई त घाटा भएन तर घाटा जसपालाई भयो । उसको भोजपुरका उम्मेद्धार हेमराज राई पराजीत हुन पुगे ।
एमाले पनि अनौपचारीक हिशाबले र मधेश प्रदेशमा औपचारीक रुपमै गठबन्धनमा थियो । उसले लोसपासँग तालमेल गरे पनि सो प्रदेशमा परिणाम हात पार्न सकेन ।
माओवादी, एकीकृत समाजवादी, जनमोर्चा यो गठबन्धनलाई निर्वाचन सम्मै लानु पर्ने पक्षमा छन् । चित्र बहादुर केसीले त विज्ञप्ति नै जारी गरेर गठबन्धन कायम राख्नु पर्ने माग गरीसकेका छन् । किन भने २७ वर्षपछि जनमोर्चा पनि राष्ट्रिय सभामा प्रवेश गर्न सफल भएको छ गठबन्धनकै कारण ।
यो माग र चाहनाका बाबजुद काँग्रेस भित्र भने सभापति एवं प्रधानमन्त्री शेर बहादुृर देउवा दबाबमा छन् । उनी गठबन्धनकै बलमा प्रधानमन्त्री बनेकाले यस पक्षका नेताहरुको कुरा पनि नसुनि भएको छैन । अर्को तर्फ पार्टी भित्रैबाट शेखर कोईराला र गगन थापा समुह गठबन्धनको पक्षमा छैनन् । साथै उनीहरु बैशाखमै स्थानीय तहको निर्वाचनको पक्षमा समेत छन् । यस्तोमा राष्ट्रपतिसँग समेत परामर्श गरेका देउवाले कस्तो निर्णय लिने हुन् त्यो एकीन छैन ।
तर गठबन्धन भयो नै भने पनि विभिन्न स्तरमा अन्तरघात हुन सक्ने बलियो प्रमाण देखेर नेताहरु झस्किएको बुझिएको छ । एक माओवादी नेताका अनुसार अन्तरघातको समिक्षा गरी सजग गर्ने र आगामी दिनमा त्यसो हुन नदिने गरी लाग्नु पर्ने र तत्कालका लागि लोकतन्त्र, संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवस्यक रहेको बताउछन् ।
गठबन्धन भयो सत्ता पक्षको भने एमालेले पनि लोसपासँग तालमेल गर्न सक्ने संभावना बढेको छ भने राप्रपा लगायतका केही शक्तिलाई पनि एमालेले सापेक्ष तालमेलको स्थितिमा ल्याउन सक्ने बताईएको छ ।
खास गरी यो गठबन्धन कायम रहेमा झापामै निर्वाचन जीत्न एमाले अध्यक्ष ओलीले राप्रपाको मत समेत तान्नु पर्ने अवस्था आउन सक्ने एमाले निकट केही नेताहरुको विष्लेषण छ । झापाको खास गरी दमक नगरपालिकामा राप्रपाको पनि राम्रै मत रहेको दाबी गर्ने गरिएको छ ।
पाँच दलीय जत्तिकै नभए पनि एमालेले औपचारीक अनौपचारीक तालमेल त गर्न सक्ने देखिन्छ तर त्यो भन्दा ठूलो भर गठबन्धन भित्रैबाट मत तान्ने र जीत्ने भर पनि एमालेजनले गर्न थालेको देखिएको छ ।