राउटेसँग कपडा साटेर मित लगाँउदै मन्त्री राम कुमारी झाँक्रीले आवास बनाउने प्रस्ताव राखिन् राउटे समुदायका लागि

राउटेसँग कपडा साटेर मित लगाँउदै मन्त्री राम कुमारी झाँक्रीले आवास बनाउने प्रस्ताव राखिन् राउटे समुदायका लागि

  • शनिबार, पुस २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन् ।

आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको टोली राउटे बस्ती पुग्यो । राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको बताउँदै भन्नुभयो, “तपाईँहरुले चाहेकै जस्तो भवन हामी बनाइदिन्छौँ, जहाँ बसाइँ सर्नुहुन्छ, त्यही भवन बनाउँछौँ ।” मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सितीमिति सहमत भएनन् ।

राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’ । अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाउनुभयो । टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरियो । मन्त्रीसहितले आफ्ना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो ।

करिब तीन घण्टा मितेरी साइनोसँगै भलाकुसारीपछि राउटे अगुवा फिरन्ते शैलीका संरचनामा बस्न तयार भए । तीनवटै समुदायका मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने ९ट्रस० प्रकृतिका भवन निर्माणको प्रस्ताव राख्नुभयो भने राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने वचन दिनुभयो ।

राउटे अगुवाकै अनुरोधमा सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गर्नेछ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अमरबहादुर थापाले चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसार भवन विभागले डिजाइनको खाका तयार गर्ने र राउटे अगुवासँग छलफलपछि अन्तिम रूप दिइने बताउनुभयो ।

“हामीले एउटा फोल्डिङ गर्न सकिने ट्रस भवनको नमूना राउटे बस्तीमै लिएर देखाउँछौँ”, उहाँले भन्नुभयो, “त्यसपछि राउटेको सुझावअनुसार अन्तिम डिजाइन बन्छ, जहाँ राउटे सर्दैछन्, त्यहीँ अस्थायी भवन बनाइदिन्छौँ, ताकि अर्को ठाउँ सर्दा फोल्डिङ गरेर लैजान सकून् ।”

मन्त्री झाँक्रीले राउटे समुदायमा आवास, शिक्षा र स्वास्थ्योपचारको प्रस्ताव राखेको आयोजना प्रमुख थापाले बताउनुभयो । छलफलमा शिक्षा र स्वास्थ्यका सवाललाई राउटे अगुवाहरुले खासै महत्व नदिएको उहाँको भनाइ छ । यसैबीच राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल प्रदान गर्नुभयो । मन्त्रीसमक्ष राउटेले तीन महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी