जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको निशर्त सहयोगको रुपमा एमसीसी आएकाले त्यसलाई पारित गर्ने बताएका छन् ।
मन्त्री खाँणले पूर्ववर्ती सरकारहरुकै पालोमा अघि बढेको र नेपालको विकासका लागि परियोजना बीच अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको भन्दै यो अनुमोदन हुने बताए ।
नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आइपुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा पत्रकारसँग कुरा गर्दै एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको बताए । उनले भने, “अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । भ्रममा पर्नु आवस्यक छैन ।”
नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको मन्त्री खाँडको दाबी छ ।