मुलुकको शोधनान्तर स्थिति रु एक खर्ब ५० अर्ब घाटामा

मुलुकको शोधनान्तर स्थिति रु एक खर्ब ५० अर्ब घाटामा

  • बुधबार, मंसिर २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

नेपालको चालू आर्थिक वर्षको पहिलो चार महिनाको भुक्तानी सन्तुलन रु एक खर्ब ५० अर्ब ३८ करोड घाटा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालू आवमा घाटामा पुगेको छ ।

मुलुकमा भित्रिने र देशबाट बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो । त्यस्तै सार्वजनिक विवरणानुसार देशको चालू खाता आवको पहिलो चार महिनामा रु दुई खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको देखिन्छ । गत आवको समीक्षा अवधिमा चालू खाता १९ अर्ब एक करोडले बचतमा थियो ।

तथ्याङ्कानुसार भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । चालू आवको सुरुआतमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति चार महिनाको अवधिमा ११ प्रतिशतले घटेर रु १२ खर्ब ४४ अर्ब ८५ करोड रहेको तथ्याङ्कमा उल्लेख छ ।

व्यापार घाटा रु पाँच खर्ब ६८ अर्ब

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार पहिलो चार महिनामा मुलुकको वस्तु व्यापार घाटा ५६ दशमलव आठ प्रतिशतले बढेर रु पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव पाँच प्रतिशतले घटेको थियो ।

सो अवधिमा वस्तु निर्यात रु १०४ दशमलव तीन प्रतिशतले बढेर रु ८२ अर्ब १२ करोड पुगेको छ र आयात ६१ दशमलव ६ प्रतिशतले बृद्धि भई रु छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका समानलगायत प्रमुख रहेको देखिन्छ भने आयातमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपूर्जा, कच्चा पाम तेल, कच्चा सोयाविन तेललगायत बढेका छन् ।

देशको व्यापार घाटा बढिरहँदा बाहिरबाट आउने विप्रेषण आप्रवाह (रेमिट्यान्स)समेत घटेको देखिन्छ । चालू आवको पहिलो चार महिनामा सात दशमलव पाँच प्रतिशतले रेमिट्यान्स घटेर कूल रु तीन खर्ब १२ अर्ब ४२ करोड भित्रिएको छ । त्यस्तै सार्वजनिक तथ्याङ्कानुसार आवको पहिलो चार महिनामा सङ्घीय सरकारको खर्च रु दुई खर्ब ८७ अर्ब ५४ करोड र राजस्व परिचालन रु तीन खर्ब ३४ अर्ब ३१ करोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी