बिरगंज २४ कार्तिक । पर्साको वीरगञ्ज महानगरपालिका वाड नम्बर ११ श्रीपुरस्थित राज हार्डवेयरमा आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ३५ देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको पसलका सञ्चालकले बताएका छन्।
प्राप्त जानकारीअनुसार, सोमबार राति करिब ९ बजेको समयमा राज हार्डवेयरमा अचानक आगलागी भएको हो। पसलमा आगो लागेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली र स्थानीयवासी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर, उनीहरूको प्रयासका बाबजुद आगो नियन्त्रणमा आउन नसक्दा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।
राज हार्डवेयरका सञ्चालक सुरेश प्रसाद शाहका अनुसार, उनी राति करिब ९ बजेतिर पसल बन्द गरेर घर गएका थिए। आफू घर पुगेपछि छिमेकीले फोन गरेर पसलमा आगलागी भएको जानकारी गराएका थिए । खबर पाएलगत्तै उनी घटनास्थल पुगे पनि त्यतिबेलासम्म आगोले पसलमा रहेका सामानहरू ठूलो मात्रामा क्षति पुर्याइसकेको थियो।
सञ्चालक शाहले समयमै बारुण नियन्त्रण नआउँदा आगो नियन्त्रण गर्न नसकिँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताए। उनका अनुसार हार्डवेयर पसलमा बिक्रीका लागि राखिएका विभिन्न सामग्रीहरू आगलागीमा पूर्ण रूपमा नष्ट हुँदा करिब ३५ देखि ४० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
आगलागीका कारण लामो समयदेखि सञ्चालनमा रहेको व्यवसायमा ठूलो आर्थिक क्षति पुगेपछि सञ्चालक शाह चिन्तित बनेका छन्। एकै रातमा पसलका सम्पूर्ण सामान नष्ट हुँदा उनको व्यवसायमा गम्भीर असर परेको छ।
आगलागी कसरी र कुन कारणले सुरु भयो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। आगलागीको वास्तविक कारण र क्षतिको यकिन विवरण सम्बन्धित निकायबाट थप अनुसन्धान तथा मूल्याङ्कनपछि खुल्ने अपेक्षा गरिएको छ।