नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो पटक प्रतिनिधिहरुले मतदान गर्ने क्रम जारी छ ।
सभापतिमा देउवा र शेखर कोईराला र अन्य उम्मेद्धारहरुले बहुमत नल्याएपछि दोस्रो पटक मतदान भएको हो । अहिले सम्म करीब ४ हजार मत खसिसकेको छ । मतदान सकिएपछि आजै रातिबाट गणना शुरु गर्ने तयारी छ ।
कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ ।
मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दोस्रो चरणको चुनाव भएको हो ।
सभापतिका लागि कुल ४ हजार ६८१ मत खसेको थियो । जसमा ७७ मत बदर भएको छ । मतपरीणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालले १ हजार ७२९ अरथात २६.९३ प्रतिशत मत पाएका छन् ।
बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।
सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हो । यसैबीच, देउवाले अब कम मत ल्याएका प्रकाश मान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थन पाएकाले देउवाले बाजी मार्ने अपेक्षा सो समुहको छ ।
तर डा. कोईरालाले पनि अब आफूले चुनाव जीत्ने दाबी गरेका छन् ।