सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र विस्तारले गति लिएको छ ।

प्राधिकरणले कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण गरेको १३२र३३र११ केभी क्षमताको मोतीपुर सबस्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिएको छ । सबस्टेशनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सबस्टेशनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।

मोतीपुर सबस्टेशनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायत समस्या थियो । अब मोतीपुर सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्ने छ । सालझण्डीमा ३३÷११ केभी क्षमताको सबस्टेशन निर्माणाधीन छ । सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ ।

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेशन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२र३३र११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ । सन्धिखर्क सबस्टेशन आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्ड प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको निर्माण सम्पन्न भएको छ । यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारण लाइनमध्ये १३ किलोमिटर तार टांगिएको छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङका विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब रु ३ अर्ब छ । आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी