काठमाण्डौ । शेयर बजारमा लगानीकर्ताहरुमा चरम निराशा देखिएको छ । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज पनि थामिएन । आज बजार ७९.५७ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २२८१.६७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.४७ अंकले घटेर ४३७.५९ को विन्दुमा झरेको छ ।
लगानीकर्ता निराश भएकाले अझै बजार तल झर्न सक्ने आंकलन गर्न थालिएको छ । अहिले धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए । आज नेप्से उपसमूहमा रहेका १३ वटै समूह राताम्मे देखिएको छ ।
यो दिन वित्त समूह सर्वाधिक ५.३४ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा ५.२८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.९ प्रतिशत, व्यापार समूहमा ४.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९२ प्रतिशत, विकास बैंक समूहमा ५.१५ प्रतिशत, जलविद्युत समूहमा ४.१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.१३ प्रतिशत, अन्य समूहमा ३.४२ प्रतिशत, लघुवित्त समूहमा ४.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.३८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.६५ प्रतिशत र लगानी समूहमा ४.६८ प्रतिशतको गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक १८ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।