मंसिर २७, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् ।
आफुले सधै तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै भूमिका निर्वाह गरेको बताउदैँ सापकोटाले संसद्मा सभामुखको भूमिका खेलको अम्प्यायर जस्तो भएको पनि धारणा राखे ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले सबैसँग छलफल गर्दै अघि बढ्ने पनि बताए । सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले संसद्मा रहेको गतिरोध अन्त्यका लागि आफुले राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने सापकोटाको भनाई थियो ।
सदनमा पार्टीहरुकै भुमिका निर्णायक हुने भन्दै सभामुख सापकोटाले थपे, जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ । हामीले आफूले गर्नुपर्ने तयारी गरेका छौं । संविधानले, नियमले, कानूनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुन्छ ।’
सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत् नभएको बताए । उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए ।
भोलिदेखि संसद् अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद् भवन पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका हुन् । संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टीजेन परिक्षण भइरहेको पनि जानकारी दिएको छ ।