काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेतासहितको प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सांसदसहितको टोली चीन जान लागेको हो।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमण ११ दिनको हुनेछ। भ्रमणमा जान लागेको टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले आज बिहान ९ बजे विमानस्थल पुगेर बिदाइ गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
महामन्त्री आचार्य नेतृत्वको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका विभिन्न सहर बेइजिङ, हाङ्चाउ र सिचुवानलगायत स्थानको भ्रमण गर्ने कार्यक्रम छ।
टोलीका सदस्य तथा रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्दबहादुर चन्दले चीनले नवप्रवर्तन र प्रविधिका क्षेत्रमा गरेको विकासबारे अध्ययन गर्नु भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन्।
उनका अनुसार चीनले प्रविधि र अनुभवका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई नेपालको आवश्यकता र क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन तथा उद्यमशीलताको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन र विचार आदानप्रदान गरिनेछ।
विशेषगरी कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिजिटल प्रविधि, नवप्रवर्तन तथा औद्योगिक विकासका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धि, अवलम्बन गरेका नीति र संस्थागत अभ्यासबारे बुझ्ने आफ्नो रुचि रहेको चन्दले बताएका छन्।
त्यस्तै, भ्रमण टोलीका सदस्य डा. धनञ्जय रेग्मीले दुई देशबीच आपसी समझदारी र आत्मीय सम्बन्ध विकास गर्न भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन्। रास्वपा सांसदहरूको चीन भ्रमणले आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा नेपाललाई दीर्घकालीन लाभ पुग्ने गरी सहकार्यको आधार तयार गर्ने उनको अपेक्षा छ।
भ्रमणबाट दुई देशबीचको राजनीतिक सम्बन्ध थप सुदृढ हुनुका साथै भविष्यमा हुने उच्चस्तरीय भ्रमणको तयारीमा समेत सहयोग पुग्ने रेग्मीले विश्वास व्यक्त गरेका छन्।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।