मंसिर २०, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म मात्रै भएको बताए ।
देउवाले भने, अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलने भनेर छलफल भएको छैन।
निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्ने भएको छ । राष्ट्रिय सभामा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ ।
त्यस्तै प्रधानमन्त्री देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् । पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताए ।
‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु। तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस्,’ देउवाले थपे ।
देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन्। सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् ।
६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतमिा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् । एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ ।
देउवाले सञ्चारकर्मीसँग फेरि पनि सभापति जिते हरेक हप्ता पार्टी कार्यालय गएर जनता र कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता जनाए । ‘यो मेरो अन्तिमपटक हो । फेरि उठ्न मिल्दैन । र, अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ,’ उनले भने । पार्टी सभापतिमै हारेको प्रधानमन्त्रीले तीनै तहको निर्वाचन गराउँदा राम्रो म्यासेज नजाने भएकाले नैतिक बलका लागि पनि सभापतिमा जित्नै पर्ने सुनाए ।
नेपाली कांग्रेस मध्यपन्थी पार्टी भएको बताउँदै देउवाले यो कम्युनिष्ट वा दक्षिणपन्थी बाटोमा नजाने बताए । ‘देशमा ८० प्रतिशत जनता हिन्दु छन्, तर के गर्ने मैले भनेर मात्र नहुँदो रहेछ । संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ । कराएर मात्र हुँदैन,’ उनले भने ।
देउवाले १४औं महाधिवेशन उदघाटनमा एमालेले जस्तो तडकभडक नगर्ने स्पष्ट पारे । ‘पार्टीको आन्तरिक चुनावमा भिड जम्मा गरेर केको शक्ति प्रदर्शन ? यो गर्ने पक्षमा म छैन,’ देउवाको भनाइ थियो ।