नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा हालै एमालेले गरेको महाधिवेशनमा गरेको भेला पञ्चर्याली जस्तो भएको बताएका छन् ।
शनिबार भरतपुरमा प्रेस सेन्टरको चौंथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले एमालेका कार्यकर्ता भेला पञ्चायतकालको अन्त्यतिर निकालिएका पञ्चर्यालीजस्तो भएको बताए।
“२०४५ सालतिर ठूला–ठूला पञ्चर्यालीहरू निस्कन्थे, पञ्चायत बाहेक अन्त त जनता लागेकै छैनन् झैं देखाउन खोज्थे। चितवनमा भएको कुम्भमेलाले त्यसैको झल्को दिएको छ,” प्रचण्डले भने, यो कुम्भमेलाको अर्थ छैन ।
चितवन अहिले विकासको पनि र राजनीतिको पनि केन्द्र भएको उनको दाबी छ ।
आजै भरतपुरमै भएको एक कार्यक्रममा बोल्दै प्रचण्ले नेकपा एमालेका कार्यकर्ताहरू चितवनको विकास हेरेर फर्किएको बताएका थिए ।
उनले एमसीसी सबै राजनीतिक दलहरुको सहमतिमा मात्रै अघि बढ्ने पनि स्पष्ट पारे ।