काठमाण्डौ । एनएमबि बैंकले ईतिहाँस रच्दै एशियाकै उत्कृष्ट पुरस्कार ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड हात पारेको छ ।
बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो। चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धालाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ।
योसँगसँगै एनएमबि बैंकले ‘दि बैंक अफ दि इयर २०२१’ अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौथो अवार्ड हो।
बैंकका अध्यक्षले सञ्चालक समिितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट समस्त बैंकिङ क्षेत्रका तर्फबाट ग्रहण गरेका छन्। उपाधिका लागि बैंकलाई बधाइ दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए।
सन् २००२ मा स्थापित ‘बैंक अफ दि इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ।
बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरु, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरु र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमताजस्ता विभिन्न मापदण्डका आधारमा यो अवार्ड प्रदान गरिन्छ।
दिगो बैंकिङका लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबि बैंकले यो अवार्ड जितेको हो।
बैंकको विकास प्रक्षेपणमा पनि उल्लेखनीय वृद्धि भएको छ। जुन बैंकको लगातार वृद्धि भइरहेको ब्यालेन्ससिट पुष्टि गर्छ।