चितवन मंसीर १४ । नेकपा (एमाले) को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि अहिले मतदान भईरहेको छ । बिहान ४ बजेबाट मतदान शुरु भएको हो । कतिपय प्रतिनिधिहरु केन्द्रीय सदस्य नपरेपछि र अधिवेशन लम्विएपछि फर्किसकेका छन् । केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि निर्वाचन सुरु गरिएको थियो ।
विद्युतीय मतदान भएकाले मत सकिएको केही समय पछि नै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।
पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भइरहेको छ । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ ।
खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
७२ वटा विद्युतीय भोटिगं मेसिन मार्फत मतदान जारी राखिएको छ ।