दाङ, १३ मंसिर । एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् ।
ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन् । मदन भण्डारीले समेत सम्भावना देखेका शंकरलाई ओलीले आफ्नो उत्तराधिकारी बनाएका हुन् ।
ओलीले शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य बनाएका छन् । मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन् ।
यस्तै, एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन् । उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन् ।
यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन् ।
१०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् ।
निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन् । उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् ।
कार्यालय सचिवका हैसियतमा केपी ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई नअटाएपछि उनी बन्दसत्रस्थलमा देखिएका छैनन् ।
ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन् ।