९ मंसिर, विराटनगर । मोरङको विराटनगर स्थित राजवंशी चोकमा रहेको आरती स्ट्रिप्सका मालिक सञ्जय सिंघल र उनको समुहले कम्पनीका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि पेस्तोल देखाएर सांघातीक आक्रमण गरेको छ । प्रतिकार गरेर ज्यान जोगाउन सफल भएका दिवस नेपालको अहिले उपचार भईरहेको छ । बुधबार बेलुका सिंघलले आफूले बोकेको पेस्तोल झिकेर विशाल गुप्ताको हातमा दिँदै मारिदे कति पैसा लाग्छ म तिर्छु भनेपछि उनको टाउकोमा अन्यले आक्रमण गरेका थिए । नेपालको टाउकोमा गंभीर चोट लागेको छ ।
अस्पतालमा उपचार गराईरहेका नेपालले “साला कुत्ता नेपाली, ईसका कोही नई है मार दो , जितना पैसा लागेका दुंगा ” भनेर सिंघलले भनेर पेस्तोल ताकेको र आक्रमण भएको बताए ।
बुधबार साँझ बिषयमा प्रहरीमा खबर भएपछि प्रहरीले उद्योग परिसरबाटै सिंघललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यलयमा राखेको थियो । तर काँग्रेस नेताहरुको दबाबमा उनलाई रातारात छुटाईएको भन्दै सो उद्योगका कर्मचारी र मजदुर समेत असन्तुष्ट बनेका छन् । एक कर्मचारीले हतियार बोकेर ज्यानै मार्न खोज्नेलाई समेत रातारात छोडिँदा आफूहरु पनि असुरक्षित रहेको नाम उल्लेख नगर्ने शर्तमा बताए ।
आक्रमणमा सिंघल सहित बिशाल गुप्ता, र एसपी बर्मा सहितको टोली सामेल रहेको नेपालले बताए ।
आरती स्ट्रीप्सले वातावरणीय रुपमा पनि असर पारेको स्थानीयको गुनासो छ । जस्ता पाता र पाईप उत्पादन गर्ने यो उद्योग भारतीयहरुको लगानीमा चल्दै आएको छ ।