नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि माओवादीको पक्षमा जनलहर आउने बताएका छन् । आज चितवनमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले महोत्तरी , सर्लाही, रौतहट लगायका जिल्लामा आफूले प्रत्यक्ष रुपमा जनताको भावना बुझेको भन्दै तराईमा पनि महन्त ठाकुर र राजेन्द्र महतोप्रति जनताको विस्वास नरहेको पाएको बताए । अब मधेशमा पनि जनताको आशा माओवादीतिरै रहेको प्रचण्डको दाबी छ ।
देशै भरीबाट पार्टीप्रति सकारात्मक रिपोर्ट प्राप्त भईरहेको प्रचण्डको भनाई छ ।
“संगठनमा यसबीचमा देखापरेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेका थियौँ । सोहीअनुसार देशैभरि सदस्यता नवीकरण र अधिवेशनहरु गर्न थालेका हौँ । अधिवेशन हुन थालेपछि पार्टीको पुनर्गठन र पुनर्निर्माणको महान् अभियानमा महत्वपूर्ण ऊर्जा पैदा भएको छ” प्रचण्डको दाबी छ ।
माओवादीले प्रतिकृयावादीलाई बालुवाटारबाट गलहत्याएको र प्रदेशमा पनि घर घर पठाएको भन्दै प्रचण्डले परिवर्तन र राष्ट्रिय एकताको रक्षा गर्न सक्ने एक मात्र शक्ति माओवादी भएको प्रचण्डको भनाई छ ।