काठमाडौं, २९ कार्तिक । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको समूहले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाइ कुटपिट समेत गरेपछि त्यसको बिरोध भयो ।
अलग मधेस देश बनाउने भन्दै गतिविधि गर्दा पक्राउ परेर जेल परेका बेला उनलाई रिहा गराउने अभियान चलाएका महेश कलवार राउतको पछिल्लो गतिविधि प्रति असन्तुष्ट बनेका छन् ।
मिर्मिरेसङ कुरा गर्दै कलवारले राउतले आफ्नो घर वरपर हिलो भएको आवेगमा अमानवीय गतिविधि गरेको भन्दै आवस्यक परे युवाले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष राउतको बसोबास रहेको घरछेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कार्यालय प्रमुख कुशवाहामाथि उनका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए ।
डा. राउतलाई २०७१ सालमा मधेश अभियानका क्रममा मोरङको रंगेली सोरामांगसिंहमा कार्यकर्ता प्रशिक्षण गरेर फर्किने क्रममा राष्ट्रिय अखण्डताविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । नेता कलवार भन्छन्, ‘डा. राउत पक्राउ परेपछि उनलाई ५० हजार धरौटि मागिएको थियो । धरौटि बुझाउन पैसा प्रत्येक व्याक्तिबाट एक रुपैया उठाएर ५ लाख जम्मा भएको थियो । ‘
कलवार स्वयमले पनि एक रुपैयाको सिक्का दिएको बताउदैँ भन्छन्, ‘डा. सिके राउतसँग आज म त्यहि सिक्काको हिसाब माग्दैछु, हिम्मत छ भने त्यसको हिसाव दिनुस् ।’