काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि प्रदर्शन गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी प्रदर्शनमा उत्रिएपछि सोमबार पनि सुरक्षाकर्मी बढाइएको हो।
नेपाल बारले सर्वोच्चको पहरेदार संस्थाले सांकेतिक रुपमा विरोध गर्दा प्रहरी परिचालन गरिनु अत्यन्तै निन्दनीय भएको बताउँदै आएको छ। उनले पुनस्यस्ता कार्य नगर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन्।
जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु निरन्तर धर्नामा बसेका हुन्। विरोधको पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरुले हातमा कालो पट्टी बाँधेर सर्वोच्च परिसरमा धर्ना दिएका हुन्। कानुन व्यवसायी सोमबार बिहानैदेखि धर्ना बसेका छन्।
अदालत परिसरभित्र प्रहरी र वकिलहरुबीच केहीबेर घम्साघम्सी भएको थियो। नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च अदालत छिर्ने क्रममा वकिलहरुलाई प्रहरीले रोक्न खोज्दा केहीबेर घम्साघम्सी भएको हो।
वकिलहरुलाई अदालत परिसरबाट मुख्य गेट अगाडी धर्ना दिन जाने क्रममा प्रहरीले रोक्न खोजेको थियो । प्रहरीसँग केहीबेर घम्साघम्सी भएपछि वकिलहरु अदालतको मुख्य गेटमा धर्ना दिन पुगेका छन् । प्रहरीले वकिलहरुलाई वैकल्पिक गेटमा धर्ना दिन भने रोकेको छ ।
यस्तै, केहीबेर अघि मात्रै सर्वोच्चको गेट अगाडि प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्रेर लगेको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ ।