२९ कार्तिक, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ काँडेभन्ज्याङ बुलडाँडामा आज बिहान दर्शनार्थी बोकेको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको प्रदेश ३, ०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।अन्य १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतेनीका ३५ वर्षीया मिठुमाया मगर, अन्दाजी १६ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए ।
मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकाहरुको उद्धार गरी अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए।
घाइते भएका १३ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा परि गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ। बोलेरोमा सुनकोशी गाउँपालिका ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका दर्शनार्थी थिए।