काठमाडौँ, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पु¥याउन सङ्गठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मैले पार्टीका नेतालाई भनेको थिए। साँझ पर्न पाएको छैन, गर्मी महिनामा साढे सात बजे, जाडो महिनामा साढे ५ बजे। अध्याँरो हुन पाएको छैन। त्यसपछि होटलका कोठाहरु भरिभराउ हुन थाल्छन् रे। टेबुल वरपर बोत्तलै बोत्तल देखिन्छन्। त्यहाँ ग्लास ठोकाठोक भइरहेको हुन्छ रे अनि गर्मागर्मी चर्का चर्कि हुन्छ रे अनि घरमा गएर झगडा गर्छन् रे परिवारमा। तपाईहरुमा पनि यो कुरा सुन्न नपरोस्।’