काठमाडौँ, २६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ । आफूनिकट नेता र मन्त्रीहरुसँग न्यायालयको विवादबारे परामर्शका क्रममा प्रधानमन्त्री देउवाले न्यायालयको विवादमा सरकारले हस्तक्षेप नगर्ने बताउनु भएको हो।
देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत नेताहरुसँग छलफल गर्नुभएको थियो । देउवाले बिहीबारै गृहमन्त्री बालकृष्ण खाँणसँग पनि छलफल गर्नुभएको बताइएको छ ।
‘राज्यका तीन अंगहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका आ–आफ्नै जिम्मेवारी छन् । हामीले ती निकायहरुका बीचको शक्ति सन्तुलनलाई स्वीकार गर्ने हो । अहिले देखिएको समस्या न्यायपालिकाको हो,’ देउवाले भनेको उदृत गर्दैएक नेताले भनेका छन ।
छलफलका क्रममा सरकारका मन्त्रीहरुले भने बारको आन्दोलनका कारण न्यायालयको सेवा प्रभावित भएको र सरकारले आफ्नो धारणा प्रष्ट नगर्दा त्यसको गलत सन्देश भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।