२४ कार्तिक, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नरहेको बताएका छन् । गठबन्धनले बनाएको राजनीतिक समन्वय समितितर्फ संकेत गर्दै नेता सिंहले सरकारलाई नियन्त्रण गर्ने खालका समिति आवश्यक नभएको बताए ।
गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र ओैचित्य नरहेको धारणा राखे ।
‘सरकारभन्दा माथि संयन्त्र बनन्नु भनेको संविधान र प्रजातान्त्रिक विधिविपरीत भएको भन्दै उनले गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने बताए ।
उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ छ।
‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ, नेता सिंहले भने, ‘प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन।’
सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्नेमा नेता सिंहको जोड छ । न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न नहुने नेता सिंहको भनाइ छ । ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’ उनले भने ।
साथै कार्यक्रमा नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए । कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो बर्तमान कांग्रेसले पछ्याउनु पर्नेबताए ।
वि।सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको सिंहले बताए ।
नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको गणेशमानको शालिकमा माल्याअर्पण गरेका थिए ।