२३ कार्तिक,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज नियमित पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश को राजिनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले सर्वसाधारणको मुद्दा हेर्न छाडेको दुई साता पछि उहाँले आज १० वटा इजलास गठन गर्नुभएको हो । प्रधानन्यायाधीशले पदत्याग गर्नुपर्ने माग गर्दै न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेर्न अस्वीकार गरिरहेको बेला प्रधानन्यायाधीश राणाले आज सवैखाले मुद्दाका १० वटा पेशी तोकेर इजलाश राख्नुभयो ।
तोकिएका इजलाश मध्ये ९ वटा संयुक्त इजलाश रहेका छन् भने प्रधानन्यायाधीश राणाले आफ्ना लागि एक इजलाश तोक्नुभएको छ । अझै पनि न्यायाधीशहरू आफूसँग संयुक्त इजलाशमा बस्न तयार नभएको सन्देश पाएकाले राणाले आफ्ना लागि एकल इजलाश राख्नुभएको बुझिएको छ।
एक सातासम्म कुनै पनि मुद्दाको सुनुवाई नगरेका न्यायाधीशहरुले तिहार अघि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न थालेका थिए भने तिहारको विदा सकिएपछि हिजो पनि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका थिए ।