सल्यान, २१ कार्तिक । सल्यानमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले दुर्घटनामा मृत्यु हुनेको संख्यामा १२ पुगेको बताए । मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
डिएसपी थापाका अनुसार मृत्युमा हुनेमा एकरएक जना बालक र बालिका छन् । केहीको घटनास्थल र केही उपचार गर्न ल्याउन क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका-५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।
तिहार मनाएर फर्किनेहरु दुर्घटनामा परेको डिएसपी थापाले बताए ।
मृत्यु भएकामध्ये आठ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी छन् ।
त्यस्तै शारदा नगरपालिका– की ५३ वर्षीया प्रभा चलाउने, सोही गरपालिका– २ की ६१ वर्षीया मिना डाँगी, ३ नं वडाकी ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ की २४ वर्षीया मिना शाही र बबई–४ की ६० वर्षीया डुली रेउले रहेका छन् ।
घाइते मध्ये १७ जनाको अवस्था गम्भीर र १० जना सामान्य अवस्थामा रहेका र उनीहरुको जिल्ला अस्पतालसहित सदरमुकाम खलंगाको स्वास्थ्य केन्द्रहरुमा उपचार भैरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्जतर्फ हेलिकोप्टरमा लैजाने तयारी भैरहेको उनले बताए ।
बस सडकबाट २ सय मिटर तल खोलामा बसेको र स्थानीय बासिन्दा र प्रहरीले संयुत्त रुपमा उद्दार गरिरहेका छन् । घटनास्थल सदरमुकाम खलंगाबाट १ घण्टाको दुरीमा छ ।