शिक्षकको जागिरका लागि प्रअलाई सात लाख घुस, विद्यालयलाई चार लाख चन्दा !

शिक्षकको जागिरका लागि प्रअलाई सात लाख घुस, विद्यालयलाई चार लाख चन्दा !

  • बिहिबार, कार्तिक ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

कपिलवस्तु, ११ कात्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयमा ल्याब असिस्टेन्ट (प्राथमिक तह स्तरको शिक्षक)को जागिर खान सात लाख रुपैयाँ घुस मागिएको आरोप लागेको छ । गाउँपालिकाको वडा नं. ३ जगदीशपुरमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि प्रधानाध्यापक मुनिजर हसनले सात लाख रुपैयाा घुस मागेको भन्दै न्यायिक समितिमा उजुरी परेको छ ।

सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीले छोरा विवेक चौधरीको नियुक्तिका लागि प्रधानाध्यापकलाई छ लाख रुपैयाँ बुझाएको र एक लाख रुपैयाँ नियुक्तिपछि बुझाउने मौखिक सहमति भएको लडाइँप्रसाद चौधरीले बताए ।

घुस दिएपछि हसनले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समितिसँग भेट गर्न पठाएका थिए । व्यवस्थापन समितिले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिन आग्रह गरेपछि लडाइँ छोरालाई जागिर खुवाउनबाट पछाडि हटेका थिए । घुस र चन्दा दिनुपर्ने भएपछि लडाइँले घुसबापतको छ लाख रुपैयाँ फिर्ता मागेका थिए ।

११ लाख रुपैयाँ दिन नसक्ने र यो विवादमा आफू पर्न नचाहेको भन्दै छोरालाई परीक्षाका लागि नपठाएको उनको भनाइ छ । आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको चौधरीको भनाइ छ ।

विद्यालयका प्रअ हसनले लडाइँ विद्यालयको शिक्षक नभएको बताए । ‘ममाथि लगाइएको आरोपसमेत झुटो हो । उनले छोरालाई जागिर खानका लागि नेपाली कांग्रेस विजयनगर गाउँ समिति अध्यक्ष जानकी यादवदेखि अरूबाट समेत दबाब दिएका थिए’, हसनले भने । प्रअले शिक्षक नभएको दाबी गरे पनि लडाइँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल नेता वीरेन्द्रकुमार कनोडियाले व्यक्तिगत रूपमा तलब दिएर विद्यालयमा पढाउँदै आएका थिए ।

‘प्रअलाई घुस दिनका लागि शिवराज नगरपालिका पकडी घर भएका चिन्के प्रधानसँगै घर पुगेको थिएँ । उनलाई देखेपछि एक्लै आउन भनेका थिए । ८ कात्तिकमा माछापुच्छ्रे बैंक चन्द्रौटा शाखाबाट चेकमार्फत निकालिएको छ लाख ३० हजारमध्ये ३० हजार घर खर्च राखी बाँकी प्रअ हसनलाई बुझाएको थिएँ’, शिक्षक लडाइँले बताए ।

घटना सार्वजनिक भएपछि प्रअ हसनसँग स्पष्टीकरण माग्दै अनुसन्धान सुरु गरेको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । घटनाको विषयमा आज गाउँपालिका न्यायिक समितिमा उजुरीसमेत परेको छ । रकम लिएको पुष्टि भएमा प्रअलाई कानुनअनुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी