काठमाडौँ । प्रदेश १ मा सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवैले संसद् बैठक स्थगित गर्न माग गरेका छन् । मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची भएपनि दुवै दलले बैठक स्थगित गर्नका लागि माग गरेका हुन् ।
सुरुमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेको थियो ।
त्यसपछि सत्तारुढ एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेका हुन् ।
एमालेको पालिका अधिवेशन मंगलबार एकै पटक हुँदैछ । त्यसैगरी, एमालेको दसौं महाधिवेशनको विषयमा छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक हुँदैछ ।
दुवै दलको लिखित रुपमा बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका छन् ।