देशमा रोजगारी अभावको पीडाः दशैँको मुखमा पनि भारत जानेको लर्को !

देशमा रोजगारी अभावको पीडाः दशैँको मुखमा पनि भारत जानेको लर्को !

  • बिहिबार, अशोज २१, २०७८
  • –शेरबहादुर सिंह

  • 20.4K
    SHARES

महेन्द्रनगर, २१ असोज । दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो ।

कोरोना भाइरस सङ्क्रमणका कारण स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन् । कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै यहाँबाट मजदूरीका लागि बाहिरिनु बाध्यता रहेको पीडा जानेबाट सुनिन्छ । “दसैँको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र १” बिहीबार बिहान भारतको सिमला जाँदै गरेका डडेल्धुराका राजबहादुर बुढाऐरले भन्नुभयो, “छाक टार्न समस्या भए पनि के दसैँ के तिहार ।”

कोरोना सङ्क्रमण बढ्दा गत चैतमा स्वदेश आएका उहाँले गाउँमा बेरोजगार बस्दा परिवार पाल्न समेत धौधौ भएको बताउनुभयो । दसैँ–तिहार भन्दा पनि कोरोना सामान्य बन्दै जाँदा नोकरीका लागि भारत जाने गाउँबाट पलायन हुने क्रम बढिरहेको उहाँको भनाइ छ ।

त्यसैगरी बिहीबार बिहान भारतको हरिद्धार गइरहेका दार्चुलाका केशव जोशीको पनि पीडा उस्तै छ । “दश वर्षभयो हरिद्वारमा काम थालेको हो”, उहाँले भन्नुभयो, “यो वर्ष कोरोनाबाट परिवारका सदस्य बिते, दसैँ नहुने घरमा बसेर के गरौंँ भनेर भारत जाने लागेको हुँ ।” उहाँले परिवारको खर्च र बालबालिकाको पालनपोषण भारतीय नोकरीले नै भइरहेको बताउनुभयो ।

त्यस्तै डोटीका धनादेवी रावतले दसैँ छाडेर जाँदा मन अमिलो भइरहेको बताउनुभयो । “सबैको घरमा आज दसैँको उल्लास सुरु भयो”, उहाँले भन्नुभयो, “गरिबलाई न खुसी नत सुख नै मिल्दो रहेछ ।”

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले घटस्थापनाको दिन यस नाकाबाट एक सयभन्दा बढी नेपाली मजदूरीका लागि भारततर्फ गएको बताउनुभयो । “आउने बढिरहेको भए पनि जाने क्रम दसैँले छेकेको छैन्”, उहाँले भन्नुभयो, “हामीले चाडपर्वका बेला हुने आपाराधिक गतिविधि नियन्त्रणमा पनि सक्रियता बढाएका छौं ।” उहाँले अहिले सीमा नाकामा सुरक्षा जाँचका लागि प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत परिचालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार विगत एक सप्ताहको तथ्याङ्क हेर्ने हो भने दैनिक रुपमा २५० देखि ५००÷६०० सयसम्म नेपाली नागरिक मजदूरीका लागि भारततर्फ जाने गरेका छन् ।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट नाकाबाट बुधबार मात्रै ३७० जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् । “विगतका वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउन घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो”, उहाँले भन्नुभयो, “यहाँबाट भारतको दिल्ली, देहरादुन, बङ्ग्लोर, पञ्जाव, सिमलालगायतका सहरतर्फ बढी जाने गर्छन् ।” प्रहरीले यात्रुको सहजीकरणका लागि नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी यहाँको डोकेबजार नाकाबाट पनि दसैँको मुखमा भारत जाने क्रम चलिरहेको छ । डाकेबजारस्थित प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भारत जाने क्रम कम भए पनि नरोकिएको बताउनुभयो । “यो नाकाबाट प्रायः बेलुकीतिर मजदूरीका लागि नेपाली नागरिक भारततर्फ जाने गर्छन्”, उहाँले भन्नुभयो, “बुधबार मात्र एक सय ११ जना रोजगारीका लागि भारततर्फ गएको तथ्याङ्क छ ।”

उहाँले भारतबाट दैनिक ९०० भन्दा बढी नेपाली आइरहेको जानकारी दिनुभयो । “चाडपर्वका बेला भएकाले घर बिदामा आउने बढिरहेका छन्”, उहाँले भन्नुभयो, “अहिले नाकामा आवागमन सहज पारिएको छ ।”

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना भाइरस सङ्क्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम बढ्दो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी