काठमाडौं, १७ असोज । एमालको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ । तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिएका हुन् ।
१५ जनाभन्दा बढी पदाधिकारी रहने केन्द्रीय सचिावलय बनाउन नहुने बताउँदै उनले महाधिवेशनमा उठाइएका विषयलाई आत्मसाथ गर्दै पदाधिकारी १५ सदस्यीय बनाएको बताए ।
उनका अनुसार अध्यक्ष एकजना, वरिष्ठसहित पाँचजना उपाध्यक्ष, महासचिव एकजना, उपमहासचिव एकजना र सचिव सातजना गरी १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ ।
यस्तै एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीनवटा आयोगलाई भने शक्तिशाली बनाएको हो ।
अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
लेखा परीक्षण आयोगको नाम संशोधन गर्दै लेखा आयोग बनाइएको छ ।