काठमाडौं, १५ असोज। एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन् । सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङ्गसहित ओली आफ्नो पुरानो सैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन् ।
निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गरेका छन् । ओली पुग्नुअघि सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरू ‘नेकपा एमाले प्रथम विधान’ लेखिएको ठूलो पोस्टर र केपी ओलीको पूर्णकदको फोटोसहितको ठूलो पोष्टरमुनि बसेर सेल्फी खिचिरहेका छन् ।
ओलीको स्वागतमा पञ्चकन्या खटाइएको छ । पुष्पगुच्छासहित एकै प्रकारको पोशाक लगाएका कन्याले ओलीसहितका शीर्ष नेतालाई पुष्पगुच्छाले स्वागत गर्दैछन् ।
पञ्चकन्यासँगै नेता रामबहादुर थापा ‘बादल’, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, महाधिवेशन भएको क्षेत्र ललितपुरका एमाले सांसद नवराज सिलवाललगायतका नेताहरू स्वागतका लागि बसेका छन् । 
१५–१७ असोजसम्म एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा हुनेछ ।