काठमाडौँ, १४ असोज । सर्वदली बैठकमा एमाले सहभागी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलको अवरोध खुलाउने विषयमा संवादका लागि अझै कोसिस गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाको आह्वानमा बिहान बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलका नेताहरुका सुझाव सुनेपछि संसद्को कार्यसञ्चालनका विषयमा प्रमुख प्रतिपक्षी दलसँगको संवादका लागि अझै कोसिस गर्ने बताएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । बैठकको मुख्य एजेन्डा नै संसदको अबरोध हटाउने भएपनि प्रतिपक्षी एमाले नै बैठकमा सहभागी भएन ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेमकिपाका नेता प्रेम सुवालले संसद् सञ्चालनका विषयमा प्रधानमन्त्रीले लिएको पहलकदमी सकारात्मक रहेको भन्दै संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए ।
आजको मुख्य एजेण्डा भनेकै संसद् सञ्चालनका बारेमा भएपनि बैठकमा प्रमुख प्रतिपक्षी दल नै अनुपस्थित भएपनि निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
जवाफमा देउवाले ओलीसँग पुनः संवादका लागि पहल गर्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भाग्न खोजेको अनुभुति भएको भदै फेरी पनि संवादका लागि आमन्त्रण गर्ने देउवाले बताए ।
उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा जनताको दैनिकीसँग जोडिएका विधेयकहरु अलपत्र अवस्थामा रहेको भन्दै संसद् सञ्चालनमा आएको अवरोधले ती विधेयकहरुलाई अन्योलको अवस्थामा पुर्याएको बताए ।
बैठकपछि देउवाको भनाई उदृत गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नै प्रधानमन्त्री देउवालाई संसद्मा जारी गतिरोध अन्त्य गर्नकालागि आग्रह गर्नुभएको गरेकाले त्यहीअनुसार प्रधानमन्त्रीज्यूले यो पहल गर्नुभएको हो । तर, उहाँहरु आउनु नै भएन, संसद्लाई निर्वाध रुपले अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता हो । त्यो आवश्यकता सबैले अनुभूति गर्नुपर्छ ।’