काठमाडौं, ११ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले त्यहाँ रहेका गैरआवासीय नेपालीहरुले गरेको कार्यक्रममा एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको र एमसीसीमा सहि छाप गरिसकिएको भन्दै संशोधन हुन नसक्ने बताएका हुन् ।
एमसीसी परियोजना अनुदान भएको भन्दै उनले प्रश्न गरे, ‘हामीले मागेको हो, सहि छाप गर्दा नहेर्ने अनि अहिले संसोधन गर्नुपर्छ भन्न मिल्छ ।’
सबै दलको राष्ट्रिय सहमति प्राप्त गरेपछि अघि बढ्ने पनि उनले बताए । एमसीसीको आफ्नै प्रक्रिया भएको प्रष्ट्याउदै उनले नेपालले संशोधन गर्दा एमसीसी लागू भएका देशसमेत प्रभावित हुने भएकाले यो कठिन हुने बताए ।
सामाजिक सञ्जालले एमसीसीबारे नकारात्मक प्रचार गरेको भन्दै उनले आक्रोश समेत पोखे । मन्त्री खड्काले भने, ‘गाउँगाउँमा एमसीसी गलत भनेर छरिएको छ । म आफ्नो जिल्लामा जाँदा कुटाइ खाइएला भन्ने डर भइसक्यो । माइतीघर मण्डला खबरदार एमसीसी पास गरेपछि तिमीलाई मार्छौ भन्ने नारा लाग्छ।’
बाबुराम भट्टराईको नेतृत्वको सरकारबाट एमसीसी सुरु भएको र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा हुँदाखेरी त्यतिबेलाका अर्थमन्त्रीलाई पठाएर हस्ताक्षर भएको पनि उनले सुनाए ।
उनले निवर्तमान प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा जसरी पनि एमसीसी पास हुने बताए पनि अहिले बोली फेरेको पनि आरोप लगाए । उनले भने, ‘ओली सत्ता बाहिर गएपछि संशोधन भएर मात्रै पास हुनुपर्छ भन्नुभएको छ । हामी राष्ट्रिय नेता जवाफदेही हुनुपर्छ । बारम्बार संशोधन गर्दा के पर्छ असर भनेर । अहिले केपी ओली सरकार बाहिर आएपछि संशोधन गर्नुपर्छ भन्नुभयो ।’
एमसीसी नेपालको आवश्यकता भएको कुरा सबै राजनीतिक दललाई अवगत रहेको भन्दै बाहिर हल्लागरेजस्तो एमसीसी गलत नभएको र पास गरेर जानुपर्ने बताए ।
-फाईल तस्बिर